काठमाडौं । नेपाल बास्केटबल संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जनाएका छन्।
प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
नेपाल बास्केटबल संघकै आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम मात्र सहभागी हुने भएका छन् ।
यसअघि १४ टिम सहभागी हुने भनिएकोमा बंगालादेशको नेभी टिम नआउने भएको आयोजकले जनाएको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ ।
महिलातर्फ भने पाँचै टिमको सहभागिता रहने छ । राउन्ड रविन लिगका आधारमा हुने स्पर्धामा शीर्ष २ स्थानमा रहने टिमले उपाधिका लागि पुनः प्रतिस्पर्धा गर्ने छन् ।
पहिलो दिन ३ खेल हुने छ । पुरुषको २ र महिलाको १ खेल हुने छ । उद्घाटन खेलमा पुरुषतर्फ बीएमके र कीर्तिपुर नगरपालिकाले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषमै अर्को खेल ड्रिम टिम र शंकरदेव क्याम्पसबीच हुने छ । महिलामा ललितपुर हाइ र रोयल बास्केटबल एकेडेमीले खेल्ने छन् । फाइनल फागुन १२ गते हुने छ ।