पोखरा । मानिसले शाहसिक खेल प्याराग्लाइडिङ गरेको त हामी सबैलाई थाहा भएकै कुरा हो, त्यसमा पनि सबैले नै गर्छन भन्ने छैन, त्यसका लागि साहस चाहिन्छ, तर कुकुरले समेत प्याराग्लाइडिङ गर्यो भन्दा आश्चर्य नमान्नु होला ।
किनकी हस्की ब्रीड जातको पल नामको कुकुरले पोखरामा साहसिक खेल प्याग्लाइडिङ गरेको छ ।
पोखराका रेष्टुरेन्ट व्यवसायी सन्तोष गुरुङले पालेको कुकुरले केहि दिन अगाडी प्याराग्लाइडिङ गरेको भिडियो यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल छ । पलसंग फोटो खिच्नेको समेत घुइचो लाग्ने गरेको व्यवसायी गुरुङले बताए ।
कुकुरले प्याराग्लाइडिङ गरेको यो नेपालमै पहिलो घटना हो । प्रशिक्षक मोहन पुनले करिब ३ महिना लगाएर प्रशिक्षण दिएपछि पलले प्याराग्लाइडिङ गरेको हो ।
कुकुर पलको उमेर अहिले ७ महिनाको भयो । १ महिनाको हुँदा सन्तोषले १ लाख १० हजारमा कुकुर किनेका थिए । उनिसंग अहिले १२ वटा फरक फरक जातका कुकुर रहेका छन् । उनका अनुसार सबै कुकुरको मासिक खर्च ५० हजार रहेको छ ।
करिब ३ महिना अगाडीपनि फ्रान्सको गोलडुग्रानमा कुकुरले प्याग्लाइडिङ गरेको भिडियो निकै चर्चित बनेको थियो । त्यो नै विश्वमा नै प्याराग्लाइडिङ गर्ने पहिलो कुकुर रहेको थियो।