काठमाडौं । नेपाली खेलकुदको बैज्ञानिक अनुसन्धान गर्ने योजना सहित नेपाल खेलकुद अनुसन्धान तथा प्रबद्र्धन प्रतिष्ठान (नेस्पो)को गठन भएको छ ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलकुदका लोकप्रिय, अन्तराष्ट्रिय रुपमा सफल, ओझेलमा परेका र सम्भावना भएका खेलको समय सापेक्ष बैज्ञानिक अनुसन्धान र खेलबिज्ञानको मर्म अनुसार काम गर्ने उद्धेश्यले नेस्पोको स्थापना गरिएको जानकारी गराईएको छ ।
प्रतिष्ठानले ‘रुट टू ओलम्पिक’को लक्ष्य सहित खेलकुदको अनुसन्धान र प्राज्ञिक काममा विभिन्न सरोकारवाला पक्षसँग मिलेर काम गर्ने बताएको छ ।
प्रतिष्ठानले पत्रकार सम्मेलनमा यस वर्ष गरिने मुख्य कामको योजना समेत सार्वजनीक गरेको छ ।
प्रतिष्ठानले यस वर्ष विदेशी खेल प्रशिक्षकलाई नेपालमा ल्याउन सहजीकरण गर्ने, प्रशिक्षक बन्न इच्छुक प्रशिक्षक तथा खेलाडीलाई भच्र्युअल मार्फत स्वदेशी र विदेशी खेल बिज्ञद्धारा प्रतिक्षणको व्यवस्था गर्ने, खेल पाठ्यक्रम बनाउन इच्छुक संघ संस्थालाई सहयोग गर्ने, खेल बिज्ञानमा अध्ययन गर्न चाहने बिद्यार्थीको सहजीकरण गर्ने र यसै वर्ष विश्व स्तरीय खेल बिज्ञको संलग्नतामा दुई दिने अन्तराष्ट्रिय सम्मेलन गर्ने बताएको छ ।
घरेलु खेलकुदमा अनुसन्धान र प्राज्ञिक रुपमा काम गर्ने संस्था नदेखिएको अवस्थामा नेस्पोले पत्रकार सम्मेलनमार्फत आफ्नो योजनाहरु सार्वजनीक गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष साम्राज्य बिक्रम पाँडेले खेलाडीको विकाश, खेल शिक्षा र प्रशिक्षणलाई केन्द्रमा राखेर खेलकुदको अनुसन्धान अघि बढाउने बताए । उनले खेलकुदको अनुसन्धानका लागि सम्पुर्ण सरोकारवाला निकायसँग सहकार्य र हातेमालो गरिने उल्लेख गरे ।