काठमाडौंं । नेपाल बास्केटबल संघले स्वर्गीय लामा टेन्डी शेर्पा स्मृति खुल्ला पुरुष तथा महिला बास्केटबल च्याम्पियनसीप आयोजना गर्ने भएको छ ।
संघले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २ देखि १२ सम्म त्रिपुरेश्वरस्थित कभर्ड हलमा आयोजना हुने जानकारी गराएको हो ।
संघका अध्यक्ष भिम सिंह गुरुङले प्रतियोगितामा जम्मा १९ टिमले सहभागिता जनाउने जनाए ।
जसमा पुरुषतर्फ १४ तथा महिलातर्फ ५ टिमको सहभागिता रहनेछ ।
पुरुषतर्फ बंगलादेशको नेभी टिमको समेत सहभागिता रहनेछ ।
बंगलादेशको टिमसहित रोयल बास्केटबल एकेडेमी, गोल्डेन गेट बास्केटबल क्लब, एनसीसी, जेभियर्स इन्टरनेशलन कलेज, बीएमके, क्याम्पियन सोलो, टाइम्स बास्केटबल क्लब, कीर्तिपुर नगरपालिका, ड्रिम टिम, कास्की बास्केटबल संघ, त्रिभुवन आर्मी क्लब, शंकरदेव क्याम्पस तथा एचआईके भिजन रहेका छन् ।
महिलातर्फ ललितपुर हाई, रोयल बास्केटबल एकेडेमी, कीर्तिपुर नगरपालिका, रुपन्देही बास्केटबल संघ र नेपाल पुलिस क्लब रहेका छन् ।
प्रतियोगिताको महिला तथा पुरुषतर्फका विजेताले ५० हजार पुरस्कार पाउने प्राप्त गर्नेछन् ।
त्यस्तै दोस्रोले २५ हजार पाउँदा मोस्ट भ्यालुएवल खेलाडीले १० हजार नगद प्राप्त गर्ने संघले जनाएको छ ।
संघका महासचिव नरेन्द्र थापाले निरन्तररुपमा बास्केटबल प्रतियोगिता आयोजना गर्ने जनाए ।
‘बास्केटबलमा सहयोग गर्ने हातहरु धेरै थिएनन । अब हाम्रो कार्यक्रम धेरै गर्ने तयारी छ । उमेर समूहका खेलकुद प्रतियोगिता पनि धेरै हुनेछ । त्यसको सुरुआत यो प्रतियोगिता हो ।’