काठमाडौं । पर्शुराम बस्नेतलाई नेपाल खेलकुद महासंघ (नेकोस)को संयोजकको जिम्मेवारी दिईएको छ ।
आईतबार बसेको पदाधिकारी बैठकले बस्नेतलाई खेलकुद महासंघको संयोजकको जिम्मेवारी दिएको हो ।
बैठकले बस्नेतको संयोजकत्वमा १ सय ९९ सदस्यीय आयोजक कमिटी समेत गठन गरेको छ ।
सर्वसम्मत रुपमा चुनिएको कमिटीलाई महासंघको अधिवेशन गर्ने म्यानडेट छ । नेपाल खेलकुद महासंघ नेकोस एमाले निकट खेलकुद पदाधिकारीको संगठन हो ।
एमालेको युवा संघबाट पार्टी राजनीतिमा परिचय बनाएका बस्नेत पछिल्लो समय खेलकुदमा आएका हुन् । वर्तमान अध्यक्ष रमेश पौडेल एमालेको केन्द्रिय सदस्यमा मनोनित भएपछि पर्शुरामले खेलकुद महासंघको जिम्मेवारी पाएका हुन् ।
महासंघको नेतृत्वका लागि प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई समेत चर्चामा थिए । भट्टराईले महासंघ भन्दा बाहिर बसेर काम गर्ने मनसाय देखाएपछि पर्शुरामको नाममा सहमती बनेको हो ।
तत्कालिन नेकपाभित्र अन्तरसंघर्ष चर्किएपछि ओली पक्षले नेकोसको ८ सय ४५ सदस्यीय राष्ट्रिय परिषद् गठन गरेको थियो । रमेश पौडेल नेतृत्वमा गठित महासंघनै एमालेको आधिकारिक खेलकुद संगठन बनेको छ ।
नेकपा विभाजन भएर एमाले बन्नुअघि खेलकुद महासंघको नेतृत्वमा पुरुषोत्तम पौडेल थिए । माधव नेपाल समूहका नेता पौडेल एमाले विभाजनपछि ओलीसँग रहे ।
पौडेल पक्षका नेतालाई समेत समावेश गर्ने गरि पर्शुराम बस्नेतको नेतृत्वमा अधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।
एमालेले फागुन अन्तिमसम्म जनवर्गिय संगठनको अधिवेशन गर्न निर्देशन दिएको छ ।
खेलकुद महासंघका नेता प्रभातबिक्रम कट्वालले चैतसम्म अधिवेशन सक्ने गरि तयारी अघि बढेको खेलपाटीलाई बताए । ‘पार्टीले जन संगठनको अधिवेशन फागुन अन्तिमसम्म गर्न भनेको छ । तर जिल्ला, प्रदेश हुँदै केन्द्रको अधिवेशन सम्पन्न गर्न चैतसम्म समय लाग्ने देखिन्छ ।’ कटवालले भने ।