काठमाडौं । कोभिडसँग सम्बिन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच चीनको बेइजिङमा आजबाट २०२२ विन्टर ओलम्पिक सुरु भएको छ ।
यस ओलम्पिकमा १५ विद्याका खेलहरुका लागि ९० देशबाट करिब ३ हजार खेलाडीहरुको सहभागिता रहेको छ ।
बेइजिङ समर तथा विन्टर ओलम्पिक आयोजना गर्ने पहिलो सहर बनेको छ ।
यो ओलम्पिक बेइजिङसहित यानक्विङ र झाङगजिआकोऊमा आयोजना भइरहेको छ ।
यसको उदघाटन समारोह चिनिया समय अनुसार राती ८ बजेबाट बेइजिङको नेसनल स्टेडियममा सुरु हुनेछ । समापन समारोह फेबु्रअरी २० तारिखमा हुनेछ ।
खेलाडी, प्रशिक्षक, पदाधिकारी, डेलिगेट, स्वयमसेवक तथा संचारकर्मीसहित करिब ६० हजार मानिस यस ओलम्पिकमा सहभागी हुनेछन् । तर उनीहरुले स्वतन्त्ररुपमा भने घुम्न पाउनेछैनन । उनीहरुलाई आधिकारिक सवारी साधनमा खेलस्थल तथा बसोबास स्थलमा पुर्याइनेछ ।
ओलम्पिकमा विदेशी समर्थकहरुलाई अनुमति भने दिइएको छैन । तर स्थानीय दर्शकका लागि टिकट प्रदान गरिनेछ ।
तर टिकट प्राप्त गर्ने दर्शकले भने कोभिडसँग सम्बन्धित कानूनको पालना गर्नुपर्नेछ ।
आयोजकले स्टेडियमको क्षमताको ३० प्रतिशतसम्म दर्शकको अपेक्षा गरेको छ ।
क्यानाडा, अष्टे«लिया, बेलायत र अमेरिकाले चीनको मानवअधिकार उल्लंघनको तथ्यांकलाई लिएर कुटनीतिक बहिस्कार गरेको छ ।
चारवटै देशका खेलाडीहरुले सहभागिता जनाएपनि सरकारी अधिकारीहरु भने उपस्थित हुने छैनन ।