पोखरा । पदकधारी उसु खेलाडी झरना गुरुङले खेलकुद सामग्री सहयोग गरेकी छन् ।
भारतको शिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक विजेता गुरुङले आफ्नो जन्मथलो कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न क्लबहरुलाई खेलकुद सामग्री सहयोग गरेकी हुन् ।
विगत केही वर्ष देखि रोजगारीको शिलशिलामा हाल स्पेनमा रहेकी उनले स्वदेश आएको अवसरमा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ कुदी, छ्हरा र ल्वाङघलेल क्षेत्रका क्लब तथा विभिन्न संस्थाहरुलाई करिब २५ हजार मुल्य बराबरको खेल सामग्री हस्तान्तरण गरिन् ।
उनले आफू बाध्यताले विदेशीनु परेको गुनासो गर्दै आम्दानीको केही रकम सामाजिक क्षेत्रमा खर्चगर्ने इच्छा रहेको बताइन् । स्पेनमा पनि हाल खेलक्षेत्रसंगै सम्बन्धित प्रशिक्षकको रुपमा रहेको उल्लेख गर्दै झरनाले आगामी दिनमा नेपालमा उसुको एकेडेमी समेत संचालन गर्ने आफ्नो लक्ष्य रहेको समेत बताइन् ।