काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद- कर्मचारी संघले बिहीबार शान्तिपूर्ण बिरोधको कार्यक्रम गर्ने भएको छ ।
खेलाडी संघ, ओलम्पियन संघ र कर्मचारी संघले बुधबार संयुक्त विज्ञप्ति निकाल्दै दशरथ रंगशालामा शान्तिपूर्ण बिरोधको कार्यक्रम गरिने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव बर्खास्ती र नयाँ सदस्य सचिवको नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटको किनारा लगाउन सम्मानित अदालत समक्ष आग्रह गर्दै परिषदको कामकारबाही नियमित सुचारु राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न शान्तिपूर्ण बिरोधको कार्यक्रम गर्ने लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अदालत परेको रिटको सुनुवाई नहुँदा एसियाली खेलकुदको तयारी, नवौं राष्ट्रिय खेलकुद, १४ औं साग र अन्य प्रतियोगिताको तयारीमा असर पुगेको विज्ञप्तिमा जनाईएको छ ।
सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो । यस्तै मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।