काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शक राखेर फुटबल गर्न स्वीकृति प्रदान गरेको छ ।
शुक्रबार आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्व निर्धारित अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा सिमित दर्शक राखेर स्वास्थ्य मापदण्ड पूर्ण पालना गराएर सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो ।
अखिल नेपाल फुटलब संघ (एन्फा)ले भोलि शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिसससँग मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको छ ।
दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टिम नेपालमा छ । अर्को खेल मंगलबार तय भएको छ ।
कोभिड–१९ को तेस्रो लहरका बीच आयोजना हुन लागेको प्रतियोगितामा एन्फाले सिमित दर्शक समेत राखेर सञ्चालन गर्ने तयारी गरेको छ ।
एन्फाले गृहमन्त्रालयबाट सिफारिस लिएर दर्शकका लागि टिकट बुकिङ्ग खुल्ला गरेको थियो । तर बिहीबार रातिसम्म स्थानीय जिल्ला प्रशासनले स्वीकृति प्रदान गरेको थिएन ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले आदेश जारी गर्दै पूर्व निर्धारित अन्तराष्ट्रिय प्रतियोगिता सिमित दर्शक राखेर सञ्चालन गर्न स्वीकृति दिएका हुन् ।
पछिल्लो आदेशसँगै पूर्व निर्धारित अन्तराष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता दर्शक राखेर सञ्चालन गर्न पाईने भएको छ ।
कोभिडको विश्वव्यापी प्रभाव रहेपनि स्वास्थ्य मापदण्ड पालना गरेर विश्वभर दर्शक सहित खेलकुद गतिविधि सञ्चालन भैरहेका छन् । सोही अनुसार एन्फाले एक तिहाई दर्शकलाई मरिससविरुद्धको खेलमा प्रवेश दिने निर्णय गरेको थियो ।
स्थानीय प्रशासनको स्वीकृतिसँगै करिब ५ हजार दर्शकले स्वास्थ्य मापदण्ड पालना गरि दशरथ रंगशालामा शनिबार मरिससविरुद्धको नेपालको खेल हेर्न पाउनेछन् ।