काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो ।
निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गरेका हुन् ।
रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाए । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथकले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सृजना हुनु दुखद भएको उल्लेख गर्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरीने बताए । मन्त्री अथकले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाए ।
रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च बिबरण यथाशिघ्र सार्बजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेशनलाई आग्रह समेत गरे ।
रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ । अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल लगाएतको सहभागीता रहेको थियो ।