पोखरा । कास्की बडिबिल्डिङ एण्ड फिटनेश एशोसिएसनले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएको छ ।
कोभिडका कारण कास्कीमा रहेका व्यायामशाला पूर्ण रुपमा बन्द हुँदा व्यवसायी मारमा परेको भन्दै एशोसिएसनका अध्यक्ष राकेश जोशीको नेतृत्वमा गएको टोलीले बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई सात बुदे प्रतिबद्वता सहित ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले व्यवसायीको समस्याबारे आफू जानकार रहेको र माघ १५ गते पछाडि केहि निर्णय आउने भएकाले केहि समय धैर्य गर्न आग्रह गरे ।
एशोसिएसनले खोप लगाएका सदस्यहरूलाई खोप कार्ड अनिवार्य देखाएर मात्र व्यायामशालामा प्रवेश गराउने, एक पटकमा जम्मा २५ जना मात्र प्रवेश गराउने, व्यायामशालामा प्रत्येक सिफ्ट पछि डिसईन्फेक्सन, पूर्णरूपमा सेनिटाईज र सरसफाई गरिने लगायत कोरोना भाईरस बिरूद्व अपनाउनपर्ने अन्य सावधानीहरू अपनाईने प्रतिबद्वतामा उल्लेख गरेको छ ।
एशोसिएसनका अध्यक्ष जोशीको नेतृत्वमा गएको टोलीमा सचिव नविन आले मगर, सहसचिव प्रकाश पौडेल, कोषाध्यक्ष मनोज केसी लगायतको उपस्थिती रहेको थियो । एसोशिएसनले बुधबार नै यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद परिषद् कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत ज्ञापनपत्र बुझाएको छ ।