काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफ क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ ।
समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकीलाई दुई रनले पराजित गर्दै एपीएफले तेस्रो जित दर्ता गरेको हो ।
९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो ।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ ।
एपीएफले यस अघि प्रदेश २ र बागमती प्रदेशलाई पराजित गरेको थियो ।
यता गण्डकीको लगातार दोस्रो पराजय हो । यस अघि गण्डकीले पहिलो खेल प्रदेश २ विरुद्ध २ विकेटले हारेको थियो।
गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रनको योगदान गरेपनि जितका लागि पर्याप्त हुन सकेन ।
विधान श्रेष्ठले २९ रनको योगदान गरे ।
एपीएफका कमल ऐरीले तीन विकेट हात पारे ।
किशोर महतोले दुई तथा अविनाश बोहराले एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ दशमलब ४ ओभरमा अलआउट हुदै ९२ रन जोड्यो ।
एपीएफका लागि प्रदिप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रनको योगदान गरे ।
गण्डकीका कमल परियारले सर्वाधिक तीन विकेट हात पारे ।
विशाल पौडेलले दुई विकेट लिए ।
कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले एक–एक विकेट हात पारे ।