काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले पहिलो जित दर्ता गरेको छ ।
समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा प्रदेश नं. २ लाई ४२ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।
यस अघि लुम्बिनी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनको पराजय भोगेको थियो ।
यता प्रदेश २ को तीन खेलमा दोस्रो पराजय हो । यस अघि प्रदेश २ ले पहिलो खेल नेपाल एपीएफ क्लबविरुद्ध २४ रनले हारेको थियो । तर दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको थियो ।
बिहीबारको खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रनमात्र जोड्न सक्यो ।
प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे ।
हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए ।
लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पारे । खरेलले चार ओभर बलिङ गर्दा एक मेडन ओभर फाल्दै मात्र १३ रन खर्चिएका थिए ।
कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले एक–एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको हो ।
लुम्बिनीका लागि देव खनालले अर्धशतकिय इनिङ्स खेले । खनालले ३८ बलमा ५४ रन जोड्दा चार चौका र दुई छक्का हिर्काए ।
बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन जोडे ।
प्रदेश २ का विवेक यादव र रुपेश सिंहले समान दुई–दुई विकेट हात पारे ।
हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान एक–एक विकेट हात पारे ।