काठमाडौं । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट बुधबार होबार्टमा सुरु हुँदैछ र त्यस अगाडि इंग्ल्यान्डसामु खेलाडी छनोटमा ठूलै समस्या रहेको छ ।
सिड्नीमा भएको चौथो टेस्टमा बहादुरीपूर्ण बराबरीको नतिजा निकालेपछि उत्साहित इंग्ल्यान्डलाई घाइते खेलाडीको चोट गहिरो परेको छ ।
यो टेस्टको सबैभन्दा ठूलो विशेषता हो, यो डे नाइटका रूपमा हुँदैछ । सिडनी टेस्ट बराबरीमा रोकिएपछि इंग्ल्यान्डले ५–० को ह्वाइसवास सम्भावना पनि समाप्त पारेको छ ।
तर त्यो टेस्टसँगै इंग्ल्यान्डले आफ्ना विकेटकिपर जस बटरलाई गुमाएको छ । औलामा गम्भीर चोट लागेपछि उनी त घर पनि फर्किसके ।
यस्तै जोनी बियरस्टो र बेन स्टोक्सबारे पनि ठ्याक्कै भन्न सकिने स्थिति छैन्, किनभने उनीहरू दुवै फिट हुन संघर्षरत छन् । इंग्लिस कप्तान जोए रुटले चौथो टेस्ट नहार्नु आफैमा ठूलो रहेको बताएका छन् ।
इंग्ल्यान्ड ब्रिसवेन, एडिलेड र मेलबर्नमा भएको टेस्टमा एकपक्षीय ढंगले नै पराजित भएको थियो ।
रुटले भनेका छन्, ‘लगातार एकपक्षीय हारको सम्भावना कायम नै थियो । तर हामीले सिड्नीमा बराबरी निकालेर इंग्लिस टिमबारे गर्व गर्न सकिने स्थिति बनाएका छौं । हामी इंग्लिस क्रिकेटको इज्जत जोगाउन चाहन्छौं ।’
अब इंग्ल्यान्डले होबार्टमा के कस्तो खेल्नेछ, त्यसले टिम घर फर्कदाको स्थिति तयार पार्नेछ, जुन सुखद पनि हुन सक्छ, निकै दु:ख पनि ।
–एएफपीको सहयोगमा ।