काठमाडौं । सर्वाधिक पुरस्कार राशीको केटीएम रनको दर्ता आज (मंगलबार)बाट खुल्ला गरिएको छ ।
शेर्पा आउटडोरको केटीएम सिटीले माघ १५ मा आयोजना गर्न लागेको केटीएम रनको खेलाडी दर्ता आजबाट खुल्ला गरिएको हो ।
आयोजक केटीएम सिटीले मंगलबार बिज्ञप्ती जारी गर्दै अनलाईनमार्फत आजबाट खेलाडी दर्ता गर्न सकिने जनाएको छ । केटीएम रन डट कममा गएर खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
केटीएम सिटीको आउटलेट रहेका दरबारमार्ग, ठमेल, जावलाखेल, बौद्ध र पुरानो बानेश्वरमा समेत खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
खेलाडीको दर्ता शुल्क ९ सय ९० रुपैयाँ राखिएको छ । दर्ता गरेसँगै खेलाडीले दौडमा लगाउनुपर्ने टिसर्ट सहित आवश्यक सामाग्री प्राप्त गर्नेछन् । खेलाडी दर्ताको अन्तिम समय माघ १३ गते दिउँसो १ बजेसम्म रहेको छ ।
केटीएम रन पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो । दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले गिफ्ट भौचर प्राप्त गर्नेछन् ।
केटीएम रनको रुट समेत निश्चित भैसकेको छ । दरबारमार्गबाट सुरु हुने दौड घण्टाघर, भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर, थापाथली, माईतिघर, बबरमहल, बानेश्वर हुँदै फर्किएर माईतिघर, थापाथली, त्रिपुरेश्वर, न्युरोड, जमल हुँदै पुन दरबारमार्ग आएर समापन हुनेछ ।
राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक रहेको केटीएम सिटीले एथलेटिक्सको लामो दुरीको दौडलाई केन्द्रित गरेर केटीएम रन पहिलो पटक आयोजना गर्न लागेको हो ।