काठमाडौं। आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अधिकारीले समान १५–१५ अंक योगदान गरे ।
खेल सकिन ५६ सेकेन्ड बाँकी छँदासम्म दुवै टोली ४५–४५ को बराबरी स्थितिमा थिए । भ्याली पब्लिकले पहिलो क्वाटरमा ६–५ को अग्रता लियो । दोश्रोमा साइपालले ११–१० को अग्रता बनाउदै खेललाई १६–१६ को बराबरी स्थितिमा पुर्रायो।
तेश्रोमा भ्याली पब्लिकले १९–१३ को प्रदर्शन गर्यो । चौथोमा साइपाल १७–१४ ले अगाडि रहे पनि जित हात पार्न सकेन ।
अर्को सेमिफाइनलमा आभाष गुरुङको १५ अंक सहयोगमा जेभियरले ट्रिनिटीलाई ५२–३४ ले हरायो । चार क्वाटर मध्ये जेभियरले तीन क्वाटरको नतिजा आफ्नो पक्षमा पार्यो । जेभियरले क्रमशः १२–७, ११–१२, १८–८ र ११–७ स्कोर गर्यो । फाइनल सोमबार हुने छ ।