काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकमा पूर्व अध्यक्ष गणेश थापाको पत्रले प्रवेश नपाउने भएको छ ।
आफुमाथि लागेको आरोपबारे एन्फा कार्यकारिणी समितिको बैठकमा धारणा राख्न माग गर्दै पूर्व अध्यक्ष थापाले एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेखेका थिए ।
एन्फाको वर्तमान नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै आएका थापाले सार्वजनीक रुपमा एन्फा अध्यक्ष शेर्पालाई पत्र लेख्दै एन्फा कार्यकारिणी समिति बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका थिए ।
एन्फा कार्यसमिति बैठक भोलि पुस २२ गते बस्दैछ । सोही बैठकमा पूर्व अध्यक्ष थापाले धारणा राख्न माग गरेका थिए । तर बिहीबारको बैठकमा पूूर्व अध्यक्ष थापाको पत्रले प्रवेश नपाउने भएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले फिफाले प्रतिबन्ध गरेको ब्यक्तिलाई कार्यसमितिमा बोल्न दिने विषय वैधानिक नभएको बताए । उनले फिफाले कारबाही गरेको व्यक्तिसँग पदाधिकारीले सम्बन्ध राख्न नपाउने उल्लेख गरे ।
‘उहाँ फिफाले प्रतिबन्ध गरेको मान्छे हो, एन्फाले कारबाही गरेको हैन ।’ उनले भने, ‘फिफाले कारबाही गरेको ब्यक्तिसँग पदाधिकारीले सम्बन्ध राख्न नपाउने व्यवस्था छ । त्यसैले त्यो पत्रलाई कार्यान्वयन गर्न विधानले मिल्दैन ।’