काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माणका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि आवेदन पेशको माग गरेको हो।
मन्त्रालयले पहिलो पटक प्रकाशित सूचनाको ३५ दिन भित्र इच्छुक स्थानीय तहले आवेदन पेश गर्न सक्ने जनाएको छ ।
स्थानीय तहमा खेलकुद पूर्वाधार सम्बन्धि कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा आवेदन पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
यस्तै बिगत वर्षमा अनुदान प्राप्त गरि पूर्वाधार निर्माण गरिरहेका स्थानीय तहले भने हालसम्मको प्रगति अनिवार्य विवरण बुझाउनु पर्नेछ।
सरकारले तीन वर्ष अघि प्रत्येक स्थानीय तहमा एक एक वटा खेलग्रामको पुर्वाधार निर्माण सम्बन्धी कार्यविधि पारित गरेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका तयार पारेको कार्यविधिलाई मन्त्री परिषद्ले स्विकृती प्रदान गरेको थियो ।
पूर्वाधार निर्माणका लागि उपत्यका, पहाड र हिमाली क्षेत्रमा कम्तिमा २५ रोपनी र तराई क्षेत्रमा कम्तिमा २ विगाहा जग्गा भएको हुनुपर्ने व्यवस्था समेटिएको छ ।