नारायण क्षेत्री
पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले ३ महिने सहायक प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । सो प्रशिक्षणको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रशिक्षणले खेलाडीको मनोवल उच्च बनाउन सघाउने बताए । उनले प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन विज्ञहरुसंग छलफल गरी छिट्टै नै प्रदेश खेलकुद नीति निर्माणका लागि पहल सुरु गर्ने बताए ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुनु गौरवको विषय भएको बताउँदै उनले आयोजनाका लागि प्रदेश सरकार गम्भिर भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यूवा तथा खेलकुद मन्त्रालयका सचिव धु्रव गैडाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालय गम्भिर भएर अघि बढ्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले प्रदेशको खेलकुद विकास र खेलाडीको भविष्यका लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्नु पर्र्नेेमा जोड दिए
त्यस्तै खेलविज्ञ डा.प्रकाश प्रधानले समग्र सामाजिक तथा आर्थिक रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहेको बताए । अर्का खेलविज्ञ डा.पदम खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरव बढाउन प्रदेश सरकारले हाइ अल्टिच्यूड खेल मैदानको निर्माण कार्य अघि बढाउनुपर्ने उल्लेख गरे ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले मुलुकको समृद्धिका लागि खेलकुदको विकास अपरिहार्य रहेको औंल्याए । तालिममा नौ वटा जिल्लाका ९३ जना प्रशिक्षकहरुको सहभागिता रहेको कार्यक्रम संयोजक कृष्ण तिमिल्सिनाले बताए ।