इलाम । झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुर भिड्ने भएका छन् ।
आयोजक झापाले उपाधि दाबेदार विर्तामोड नगरपालिकालाई पराजित गरेपछि उपाधिका लागि आज झापा र आमचोक भिड्ने निश्चित भएको हो । झापाले अन्तिम सेमिफाइलनमा विर्तामोडलाई सोझो सेटमा पराजित गरेको थियो । उसले विर्तामोडमाथी २५–१९, २५–१७ र २५–१८ को सोझो सेटमा जित हात पार्यो । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापा गाउँपालिकाका अनिष गणेश म्यान अफ दि म्याच घोषित भए ।
पहिलो सेमिफाइनलमा दमकले नखेल्ने जनाएपछि आमचोक सिधै फाइनल प्रबेश गरेको थियो । दमकका खेलाडी ज्योति प्रकाश लिम्बुले पाँचथरको मिक्लाजुङ्गबाट गत मंसीर २२ गते खेल खेलेको भन्दै आमचोकले प्रमाणसहित उजुरी गरेपछि सहभागी टिमहरुलाई दिएको पत्रको बुँदा नम्बर ५ अनुसार खेल खेल्न दिन नसक्ने जनाएको थियो । सो बुँदामा यसअघि अन्य पालिका तथा जिल्लाबाट खेल खेलेको भए यस प्रतियोगितामा खेल्न नपाउने उल्लेख छ । सो निर्णयपछि दमकले दमककै नागरिक भएपनि अन्यत्रबाट खेलेकै आधारमा खेल्न नपाउने हो भने नखेल्ने भन्दै मैदान छाडेर हिडेको थियो । दमक डिफेन्डिङ च्यम्पियन समेत रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार तथा उप–विजेताले नगद एक लाख हात पार्नेछन् । जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा प्रदेश १ का १६ टिमको सहभागिता रहेको छ ।