काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज शनिबार नेपालको महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालको महिला टोलीले आज आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।
साविक विजेता समेत रहेको महिला टोली आज लगातार तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।
यस्तै पुरुष टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल दिउसो ५:४५ बजे सुरु हुनेछ ।
नेपाल दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो। तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।
पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।