काठमाडौं । नेपालको पुरुष टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा पहिलो जित निकालेको छ ।
बंगलादेशको ढाकामा शुक्रबार उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
बलियो टिम उज्वेकिस्तानविरुद्ध नेपालले पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो ।
रोमान्चक खेलको पहिलो सेट नेपालले २५-१८ ले गुमाएको थियो । तर, त्यसपछिको तीन सेट नेपालले लगातार जित्यो ।
नेपालले दोस्रो सेट २५-२१, तेस्रो सेट २५-२१ र चौंथो सेट २५-२३ ले आफ्नो बनाउँदै पहिलो जित निकालेको हो ।
खेलमा नेपालका धन बहादुर प्लेयर अफ दि म्याच चुनिए ।
यस अघि बिहीबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमै पराजित भएको थियो ।
अब नेपालले तेस्रो खेलमा शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ ।
पुरुषतर्फ ५ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् ।
महिलातर्फ नेपालले लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएर लगातार दोस्रो जित निकालेको हो ।
महिलाको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो ।