काठमाडौं । नेपालको महिला भलिबल टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुआत गरेको छ ।
बंगलादेशको ढाकामा बिहीबार श्रीलंकालाई ३-२ को सेटमा पराजित गर्दै नेपालले सुखद सुरुआत गरेको हो ।
तर, जितबाट मुख्य प्रशिक्षक जगदीश भट्ट खुशी भएनन् ।
उनले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएको प्रतिक्रिया दिए ।
'श्रीलंकालाई जित्नैपर्ने दबाब थियो । पहिलो खेल जित्यो भने खेलाडीको मोरल माथि हुने थियो । साउथ एसियन खेलमा श्रीलंकालाई हराईसकेकोले जित्नैपर्ने दबाब थियो । तर, हाम्रो खेलाडीहरु दुई सेट अत्यन्तै दबाबमा खेल्न पर्यो । हामीले खेल्ने खेलको २० प्रतिशत पनि प्रदर्शन गर्न नसकेर सुरुको दुई सेट गुमाउन पर्यो र त्यसपछि पनि म खेलबाट सन्तुष्ट छैन' खेलपछि प्रशिक्षक भट्टले भने, 'किनभने हाम्रो कुनैपनि पोइन्ट अफ भ्युबाट ब्लक, स्पाइक सर्भिस सन्तोषजनक नभएको मलाई महसुश भयो । तथापी शान्ति र सुनिताको प्रदर्शनले सबै खेलाडीमा उत्साह जगायो र पाँचौ सेटमा गएर जित निकाल्यौं ।'
साविक विजेता समेत रहेको नेपालले सुरुआती दुई सेट गुमाएर पनि उत्कृष्ट पुनरागमन गरेको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलको सुरुआती दुई सेट श्रीलंकाले २५-१९ र २५-२१ ले जितेको थियो ।
तर, त्यसपछिको दुई सेटमा नेपालले २५-१५ र २५-१५ को सेटमा जित निकाल्यो ।
अन्तिम सेटमा श्रीलंकालाई १५-१३ को सेटमा हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
अब नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।