काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।
जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बनेका हुन् ।
आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित गर्यो । जेभियरका निकेश मगरले १० अंक जोडे ।
मंगलबारै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८–७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९–१२ ले हराउदै फाइनलमा स्थान बनाएका थिए ।
प्लस टुको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७–१४ ले पाखा लगायो । टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे । त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७–१२ तथा रुकिजले नवोदितलाई २१–१५ ले पन्छ्याउदै फाइनल यात्रा तय गरेका थिए ।
व्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टुमा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा. कृष्णप्रसाद पाण्डे, इ क्याबका मेनेजर डिकेश प्रधानलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे ।
तीनदिने प्रतियोगिताको व्याचलर्स र प्लस टुमा समान २०–२० टिम सहभागी भएको प्रतियोगिता संयोजक विमल कार्कीले जनाएका छन् ।