काठमाडौं । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठले बेइजिङ शीतकालीन ओलम्पिकको तयारी इटालीमा गर्ने भएका छन्।
सफलरामले इटालीको पगानेला स्की रिसोर्ट ट्रेन्टोमा प्रशिक्षण गर्ने भएका हुन् ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार सफलरामलाई बिदाइ गरे ।
उनी बिहीबार इटाली प्रस्थान गर्ने छन् ।
यस्तै सफलरामले जनवरी १६, २०२१ सम्म हुने विभिन्न अन्तर्राष्ट्रिय एफआईएस च्याम्पियनसिपमा पनि भाग लिनेछन्।
नेपाल स्की एसोसिएसनका अध्यक्ष समेत रहेका एनओसी अध्यक्ष श्रेष्ठले खेलाडीलाई शुभकामना दिँदै आफ्नो खेलमा ध्यान दिन र मिहिनेत गरेर आफूलाई राम्रो बनाउने प्रयास गर्न सुझाव दिए ।
कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल स्की संघका महासचिव विजय श्रेष्ठ, एनएसएका सचिव बसन्तराज कार्की र एनएसएका सदस्यहरूको उपस्थिति थियो।