काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी सोनी गुरुङ ब्रान्ड एम्बेसडर चुनिएकी छिन् ।
हिमालयन एक्स्ट्रिमको आयोजनामा प्रतियोगिता सन् २०२२ को मे ७ मा पोखरामा हुँदैछ ।
प्रतियोगिताको एस्ट्रिम पक्ष भनेको फेवतालमा ३.५ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हुनेछ ।
विश्वभरीका करिव १ सय प्रतियोगीहरुको सहभागिता हुने उक्त एक्स्ट्रिम रेश नेपालमा पहिलो पटक हुन लागेको हो ।
स्वर्णधारी खेलाडी सोनी गुरुङ ‘आइकन’ खेलाडी भएकीले उनलाई ब्राण्ड एम्बेसडर बनाएको आयोजक हिमालयन एक्स्टिमका रेस डाइरेक्टर रिक्की योञ्जनले बताए । सशस्त्र प्रहरी बल (एपीएफ) की खेलाडी सोनीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्नेछिन् ।
एम्बेसडर सोनीलाई प्रतियोगिता खेल्न आवश्यक पर्ने ड्रेस स्विमिङ (वेट सुट) सुट, टिसर्ट, जुत्ता लगायतका कस्ट्युम सामग्री मंगलबार प्रतियोगिता आयोजक संस्थाका को–रेस डाइरेक्टर रिकेश योञ्जनले हस्तान्तरण गरे ।
उक्त सामग्री विश्व प्रख्यात ‘हुब’ कम्पनीको रहेको र यसले सोनीलाई प्रतिस्पर्धामा सहयोग पुग्ने आयोजकले जनाएको छ ।
६ वर्ष देखि एफिएफमा कार्यरत सोनी धादिङमा जन्मिएकी खेलाडी हुन् । २७ वर्षिया सोनी विगत ७ वर्षदेखि ट्रायथोलन खेलमा आवद्ध छिन् । उनी आठौ राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता पनि हुन् ।
ब्राण्ड एम्बेसडर चुनिएपछि सोनीले नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा सहभागी हुन पाउँदा निकै गर्व लागेको बताइन् ।