बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नहुने गरि काम गर्न निर्देशन दिएका छन् ।
बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखसँगको बैठकमा मन्त्री गहतराजले यस्तो निर्देशन दिएका हुन् ।
विकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा मन्त्री गहतराजले बिकस निर्माणको ठेक्का लिएका निर्माण कम्पनीले ठेक्का पाई सकेपछि काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएको स्मरण गराए ।
करिब एक दर्जन बढि कार्यालय प्रमुखको उपस्थिति रहेको बैठकमा मन्त्री गहतराजले कुनैपनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यालय प्रमुखकाबीच सम्बोधन गर्दै मन्त्री गहतराजले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्न लगाउनुपर्ने बताए ।
बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्दता जनाएका छन । यसअघि मन्त्री गहतराजले मंगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखसँग छलफल गरेका थिए ।