काठमाडौं । मोनाकोकाे माेन्टेकार्लाेमा भएको अन्तराष्ट्रिय मोटरसाइकल फेडेरेसन (फिम)को वार्षिक साधारण सभामा नासा नेपालले अन्तराष्ट्रिय ट्रफी जितेको छ ।
यस वर्ष फिमको वार्षिक साधारण सभा तथा अवार्ड समारोहमा नासा नेपालले फिम फेमली ट्रफी हात पारेको हो ।
विश्वभरका उत्कृष्ट राष्ट्रिय संघ बीच प्रतिस्पर्धाको आधारमा नासा नेपालले उत्कृष्ट संघको ट्रफी हात पारेको हो ।
नासा नेपालको ‘टू ह्विल टुरिङ र सेफ्टी राइडिङ इनिसियटिभ’ परियोजनाले अन्य प्रतिस्पर्धी देशलाई पछि पार्यो । अन्य ६ देशका परियोजना नासा नेपालसँग अवार्डका लागि प्रतिस्पर्धामा रहेका थिए ।
फिमले कुनै नयाँ योजना, विशेष अभियान, सिर्जनात्मक परियोजना, ऐतिहासिक उपलब्धि जस्ता विश्वस्तरीय प्रभाव पार्ने कुनै एउटा परियोजनालाई आधार मानेर ट्रफी दिने गरेको छ ।
साधारण सभामा भाग लिन नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल)का प्रमुख सल्लाहाकार गोबिन्द भट्टराई मोनाको पुगेका थिए ।
विश्व प्रसिद्ध स्पोर्टस सेन्टर स्पोर्टिङ मोन्टेकार्लोमा अन्तराष्ट्रिय मोटरसाईकल फाउन्डेसनका उपाध्यक्षले नासा नेपालका प्रतिनिधि भट्टराईलाई सो ट्रफी हस्तान्तरण गरेका थिए ।
यस वर्षका लागि करिब ६ परियोजना प्रतिस्पर्धामा रहेका थिए । ट्रफीसँगै नासा नेपालले ५ हजार युरो प्राप्त गरेको छ ।
ट्रफी लिदै नासा नेपालका केन्द्रिय सल्लाहाकार भट्टराईले अब ‘टू ह्विल टुरिङ परियोजना’ नासा नेपालको नेतृत्वदायी परियोजना बन्ने विश्वास व्यक्त गरे ।
नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष समेत रहेका भट्टराईले अब नेपाल विश्वकै मोटरसाइक्लिस्टको नयाँ र मुख्य गन्तव्य बन्ने बताए । यसका लागि अब फिमले समेत सहजीकरण गर्ने उनले उल्लेख गरेका छन् ।