काठमाडौं । नेपाल आर्मी ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा आर्मी ‘ए’ ले गोल्डेनगेट ‘ए’ लाई २१–१५ ले पराजित गर्यो ।
उपाधिसंगै आर्मी ‘ए’ ले ४० हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता गोल्डेनगेट ‘ए’ ले २० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा आर्मी ‘ए’ का विनोद महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसेन गुरुङ, महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा २० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद विष्टले जनाएका छन् ।