काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार एन्टी डोपिङ स्टेयरिङ कमिटि गठन गरेको छ ।
मन्त्रालयले सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा एन्डी डोपिङ कमिटि गठन गरेको हो ।
कमिटिको विज्ञ सदस्यमा युनेस्को आयोगको सचिवालयका डा. बाबुराम अधिकारी, डा. सरोजकृष्ण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटि, डा. नविसमान सिं प्रधान, पाटन अस्पताल, डा. ज्ञानेन्द्र विक्रम शाह, राष्ट्रिय खेलकुद परिषद र भारतोलन संघका उपाध्यक्ष पार्थ सारथी सेन गुप्ता रहेका छन् ।
यस्तै सदस्यमा खेलकुद विकास महाशाखाका सहसचिव डा. कमल प्रसाद पोख्रेल, खेलकुद प्रवर्द्धन शाखा उपसचिव शान्ति बहादुर वस्नेत, कानून तथा फैसला कार्यान्वयन शाखाका संगीता महर्जन र खेलकुद प्रवर्द्धन शाखा अधिकृत प्रमिला खरेल रहेका छन् ।
विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) सँग सम्पर्क र समन्वय गरी खेलकुद क्षेत्रलाई अनुशासीत, गतीशिल र विश्वव्यापी मान्यता अनुरुप अगाडी बढाउन मन्त्रीस्तरीय निर्णयानुसार एन्डी डोपिङ कमिटि गठन गरिएको मन्त्रालयले जनाएको छ ।
खेलकुदका क्षेत्रमा विश्वव्यापी मान्यता अनुरुप सञ्चालन तथा व्यवस्थापन गर्न खेलाडीहरुले खेलपूर्व, खेल दौरानका समयमा समेत क्षणिक उत्तेजना र शक्ति बढाउने प्रतिवन्धित औषधी सेवन विरुद्धको सचेतना अभिवृद्धि गराउनुका साथै आउँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै खेलकुदका क्षेत्रमा फेयर प्लेको अवधारणा अनुसार प्रतिवन्धित औषधी सेवनविरुद्धको अभियानलाई अगाडी बढाउने योजनासहित कमिटि गठन गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै बिहीबार नै बसेको कमिटिको बैठकले वाडासँग समन्वय गर्ने, एन्डी डोपिङ सम्बन्धी एकिकृत अभिलेख तयार गरी वेबसाइटमा राख्ने, वाडालाई जानकारी दिने, मन्त्रालयको खेलकुद प्रवर्द्धन शाखालाई एन्डी डोपिङ हेर्ने शाखाको समेत जिम्मेवारी दिन मन्त्रालयमा सिफारिस गर्ने र राष्ट्रिय खेलकुद परिषद्लाई एन्डी डोपिङ युनिट स्थापना गर्न वा कुनै शाखालाई यस सम्बन्धि कार्य जिम्मेवारीको लागि पत्रचार गर्न मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।