काठमाडौं । क्रिकेट अष्ट्रेलियाको छनोट समितिका अध्यक्ष जर्ज बेलीले एसेज सिरिजका लागि टिम पेनको छनोटलाई लिएर मतदान भए आफू सो कार्यबाट अलग हुने बताएका छन् ।
पछिल्लो पटक विवादका कारण पेनले कप्तानको पदबाट राजिनामा दिएका थिए ।
बेलीले पेनको छनोटलाई लिएर मतदान भए आफूले अर्का छनोटकर्ता जस्टिन लाङगर र टोनी डोडेमेडलाई जिम्मेवारी दिने बताए ।
सन् २०१८ देखि अष्ट्रेलियाको टेस्ट क्रिकेट टिमका कप्तान रहेका पेनले सन् २०१७ मा आफ्ना सहकर्मीलाई पठाएको एक सन्देशका कारण विवादित बनेपछि कप्तानी छाड्ने निर्णय गरेका थिए ।
तर डिसेम्बर ८ तारिखदेखि इंग्ल्यान्डविरुद्ध हुने एसेज क्रिकेट सिरिजका लागि आफू उपस्थित हुने बताएका छन् ।
छनोट समितिका अध्यक्ष बेलीको पेनसँग पुरानो सम्बन्ध तथा व्यावसायीक नाता रहेको बताइन्छ ।
पेनको छनोट केवल विवादित सन्देशमात्र नभएर सेप्टेम्बरमा घाटीको शल्यक्रिया गरेपछि उनले खासै क्रिकेट नखेलेका कारण पनि उनको छनोटलाई लिएर चर्चा चलिरहेको छ ।