इलाम । हलिउड र बलिउडमा लोकप्रिय बनेको खेलाडीको बायोपिक अब नेपालमा समेत बन्ने भएको छ ।
नेपालमा पहिलो पटक महिला राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक बन्ने भएको हो ।
इलामको सूर्योदय नगरपालिकाकी बासिन्दा सुब्बाको वास्तविक कथामा आधारित बोयोपिक फिल्म मोसन पिक्चर्सले बनाउन लागेको हो ।
करिब १ करोड ५० लाखको लागतमा बनाउन लागिएको बायोपिकमा शसस्त्र प्रहरीका पुर्व उपरिक्षक प्रेम श्रेष्ठ, केन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश अग्रवालको लगानी रहेको छ ।
बायोपिकलाई मिलन चाम्सले निर्देशन गर्दैछन् । निर्देशक चाम्सले केहि दिनपछि बायोपिकका अन्य कलाकारहरु सार्वजनिक गर्ने बताए ।
‘कलाकारहरु छनौटको काम भइसकेको छ नेपालमा ख्याती पाएका कलाकारहरुलाई बायोपिकमा देख्न सकिनेछ ।’ चाम्सले भने ‘ केही दिनपछि प्रेस मिट गरेर औपचारिक रुपमा सार्वजनिक गरिनेछ ।’
नेपालको यु–१४ हुँदै सन् २०१६ बाट सिनियर टोलीको पहिलो रोजाईको गोलरक्षकको रुपमा रहेकी छन् ।
२५ वर्षीया एन्जिलाले पनि आफ्नो बायोपिक फिल्म बन्ने करिब निश्चित भएको प्रतिक्रिया दिइन् ।
‘बायोपिक बन्ने कुरा अन्तिम चरणमा पुगेको छ ।’ उनले भनिन् ‘ सवै कुरा मिलाएर सुटिङ गर्ने भनेको छ ।’ नेपालमा खेलाडीले अभिनय गरेर बन्ने यो पहिलो बायोपिक हो ।
यसअघि नेपालमा खेलकुद सम्बन्धी चलचित्र बनेको भएपनि वास्तविक कथामा खेलाडी आफैले अभिनय गरेको यो पहिलो हो ।
एन्जिलाको बायोपिक बन्नेभएपछि नेपाली खेलकुदमा विशिष्ट योगदान गरेका बैकुण्ठ मानन्धर, संगीना बैद्य, दिपक विष्ट जस्ता खेलाडीहरुको बायोपिक बन्ने बाटो खोलिएको छ ।