काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले काठमाडौंमा खेल नीति सम्मेलनको आयोजना गर्ने भएको छ ।
देश संघीय संरचनामा गएपनि राज्यका निकाय बीच आवश्यक सहकार्य हुन नसकेको निष्कर्श सहित नेकोसले मंसिर ५ र ६ गते काठमाडौंमा खेल नीति सम्मेलन आयोजना गर्ने भएको हो ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै नेकोसले सम्मेलनमा समावेश गरिने विषयका जानकारी गराएको छ । नीतिगत अन्यौलताका बीच कतिपय राष्ट्रिय खेल संघ खारेजीको बाटोमा गएको उल्लेख गर्दै नेकोसले सम्मेलनबाट वर्तमान खेलकुदलाई दिशानिर्देशन गरिने दाबी गरेको छ ।
महासंघका अध्यक्ष रमेश पौडेलले खेलकुदमा देखिएको नीतिगत अन्यौलता र समस्यालाई दिशानिर्देश गर्न सम्मेलनको आयोजना गर्न लागिएको बताए । ‘राजनीतिक संगठन भएका हिसाबले हामीले नीतिगत रुपमै काम गर्नुपर्छ । वर्तमान खेलकुदमा देखिएका अन्यौलता र समस्यालाई सम्मेलनले हल गर्ने विश्वास छ ।’ उनले भनेका छन् ।
सम्मेलनमा खेलाडी, संघका पदाधिकारी, राखेप र प्रखेपका पदाधिकारी, विश्व विद्यालयका अफिसियल, खेल बिज्ञ, नीति क्षेत्र, पत्रकार, जिल्ला, नगर, खेलकुद समितिका पदाधिकारी, पूर्व खेलकुद मन्त्री तथा सदस्य सचिव, विभिन्न राजनीतिक दलका खेलकुद संगठनका पदाधिकारी र नेकोसको विभिन्न तहमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यको सहभागीता रहने बताईएको छ ।
सम्मेलनमा राजनीतिक दल र खेलकुद संगठन, राजनीतिक दलका महाधिवेशनमा खेल क्षेत्रको नीतिगत सवाल, खेलकुदका सरोकारवाला निकायसँग अन्तरक्रिया, खेलकुदको विगत, वर्तमात र भविष्य सहित खेलकुद ऐन तथा नियमावली, खेलकुद आयोजना, व्यवस्थापन र प्रचार सहितका एजेण्डामा छलफल हुने बताईएको छ ।
दुई दिने सम्मेलन आयोजनाका लागि करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्मेलनको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् ।