काठमाडौं । दीपक गुरुङ विश्व आर्चरी एसियाको बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।
शुक्रबार भएको विश्व आर्चरी एसियाको साधारण सभाले गुरुङलाई सर्वसम्मत बोर्ड सदस्यमा निर्वाचित गरेको हो ।
एसियाको ९ सदस्यीय कार्यसमितिमा गुरुङ बोर्ड सदस्यमा सर्वसम्मत भए । एक अध्यक्ष, तीन उपाध्यक्ष र पाँच सदस्य पदमा निर्वाचन भएको थियो ।
गुरुङ नेपाल आर्चरी संघका केन्द्रिय अध्यक्ष समेत हुन् ।
यस्तै साधारण सभाले नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटीलाई पारा कमिटी सदस्यमा मनोनित गरेको छ । तीन सदस्यीय पारा कमिटीमा सिवाकोटी सदस्य बनेका हुन् ।
एसियाको बोर्ड सदस्यमा निर्वाचित गुरुङले खेलपाटीसँग कुरा गर्दै एसियाको कमिटीमा पुग्दा गर्वको महशुश भएको बताए ।
उनले नेपालबाट एसियाको कमिटीमा सदस्य निर्वाचित हुनु देशका लागि समेत गर्वको विषय भएको उल्लेख गरे ।
उनले सबै कुरा एकै रातमा सम्भव नभएको उल्लेख गर्दै यसका लागि आफुहरुले लामो समयदेखि काम गरिरहेको जानकारी दिए ।
एसियाली कमिटीमा आफ्नो उपस्थितीले नेपालमा आर्चरी खेलको विकासमा टेवा पुग्ने र अझ राम्रो काम गर्न उर्जा प्राप्त भएको धारणा राखे ।