काठमाडौं । संकटा क्लबलाई यूक्यानले प्रायोजन गरेको छ ।
आसन्न ए डिभिजन लिगका लागि चीनियाँ ब्राण्डको स्पोर्ट्स कम्पनी यूक्यानले संकटालाई प्रायोजन गरेको हो ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच यूक्यानका प्रबन्ध निर्देशक राजिन महर्जन र संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यूक्यानले संकटालाई आसन्न ए डिभिजन लिगका १० लाख रुपैयाँ बराबरीको खेल सामाग्री उपलब्ध गराउनेछ । संकटाले समेत यूक्यानको आधिकारिक जर्सी सहित यस सिजनको ए डिभिजन लिग सहितका प्रतियोगितामा सहभागीता जनाउनेछ ।
यस सिजन यूक्यान चौथो क्लबको रुपमा संकटासँग जोडिएको हो । यूक्यानले यस सिजन फ्रेन्ड्स सहित च्यासल र जावलाखेललाई आधिकारिक किट्स पार्टनरको रुपमा सहकार्य गरेको छ ।
यूक्यानका प्रबन्ध निर्देशक महर्जनले फुटबलप्रतिको मायाका कारण क्लबसँग विशेष रुपमा जोडिएको बताए । उनले क्लबका पुराना खेलाडी तथा प्रशिक्षक नरेन्द्रमान सिंहलाई स्मरण गर्दै प्रायोजन सम्झौता उनैमा समर्पित गरे ।
महर्जनले राम्रो नतिजा आएको खण्डमा अर्को सिजन क्लबलाई थप सहयोग गर्ने बचन दिए ।
क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले टिम वर्क र अनुशासन संकटाको बलियो पक्ष रहेको बताए । क्लबमा आधा भन्दा धेरै खेलाडी विगत ६–७ वर्षदेखि संगै रहेको उल्लेख गर्दै तुलाधरले आसन्न लिगमा उत्कृष्ट प्रर्दशन गर्ने विश्वास ब्यक्त गरे ।
संकटाले यस सिजन विष्णु गुरुङको नेतृत्वमा ए डिभिजन लिग खेल्नेछ । टिमका कप्तानी रवि सिलवालले गर्नेछन् ।