काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले एसियाली खेलकुदको तयारी सुरु गर्न निर्देशन दिएका छन् ।
नेपाल ओलम्पिक कमिटीको स्वागत तथा एसियाली खेलकुदको सहभागिताबारे प्रारम्भिक छलफलमा भाग लिदै खेलकुद मन्त्री गहतराजले खेलकुद संघलाई आफ्नो तयारी सुरु गर्न निर्देशन दिएका हुन् ।
उनले तयारीको लागि आवश्यक बजेटको व्यवस्थाका लागि पहल हुने बताए ।
मन्त्री गहतराजले नेपालको तयारी गुणात्मक रुपमा राम्रो हुनुपर्ने बताउँदै पदक जित्ने गरि तयारीलाई केन्द्रित गर्नुपर्ने बताए ।
‘नेपाली खेलकुदले पछिल्लो समय केही सफलता पनि प्राप्त गरको छ । त्यसको अर्थ हामीले अन्तर्राष्ट्रिय खेलकुदमा केही गर्न सक्छौं भन्ने नै हो ।’ उनले भने ।
ओलम्पिक कमिटीले सन् २०२२ को चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालको सहभागीताबारे खेलकुद मन्त्रीलाई राखेर प्रारम्भिक छलफल गरेको थियो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ खेलकुद ऐनपछि नेपाली खेलकुद नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै खेलकुदको विकासका लागि सरकार, ओलम्पिक कमिटी र सम्बन्धित संघको समन्वयको आवश्यकता रहेको बताए ।
कार्यक्रममा ओलम्पिक कमिटीमा प्रतिनिधित्व गर्ने संघका पदाधिकारी समेत उपस्थित थिए ।