काठमाडौं । नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति दोश्रो नेपाल्स स्ट्रोङगेस्ट पावर लिफ्टिङ प्रतियोगिता माघ २८ गते हुने भएको छ ।
‘स्वस्थ शरीर भित्र स्वस्थ मस्तिष्क’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा पुरुष ६, महिलामा ३ र मास्टर्स ४५ वर्षमाथि १ तौलसमूहमा गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव सुरेश सुवेदीले जनाएका छन् ।
हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
पुरुष÷महिलाको प्रत्येक तौलसमूह प्रथम हुने खेलाडीबीच पुनः ओभरअल च्याम्पियनका लागि प्रतिस्पर्धा गराइने छ ।
ओभरअल च्याम्पियनलाई उपाधिसंगै छुट्टै जनही ५१ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।
विजेता खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागिताका लागि समन्वय गर्ने सचिव सुवेदीले जानकारी गराए ।
गत संस्करणको पुरुषमा सुकदेव कार्की तथा महिलामा ज्योति थापा ओभरअल च्याम्पियन बनेका थिए ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेलाइने छ ।
लामो समय अमेरिकामा बसेका स्व. कार्की पावर लिफ्टिङको आफ्नो उमेर समूहका विश्व च्याम्पियन हुन् । नेपालमा रहेकै बेला उनको निधन भएको थियो ।