इलाम । १४ औं संस्करणको आत्मानन्द कप मंसिर ११ गतेबाट आयोजना हुने भएको छ ।
किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६८ औं जन्मोत्सवको अवसरमा मंसिर १७ गते सम्म आयोजना हुने प्रतियोगितामा फुटबल सहित म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, छेलो, धनुकाँड, कराँतेसहितका खेल आयोजना हुनेछ ।
आत्मा–पवित्र हक्चात यक्चुम माङसेबुङको आयोजनामा हुने प्रतियोगितामा फुटबल तर्फ नेपाल र भारतका गरी आठ टीमको सहभागिता रहनेछ ।
प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, गोधुली क्लब धरान, फिदिम स्र्पोटिङ क्लब पाँचथर र झापा –११, बीबीएफसी दमक, रेडहर्ष इलाम, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, भारत र श्रीजङ्गा स्र्पाेटिङ क्बल मोरङ सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।
प्रतियोगिताको विजेताले ३ लाख १ सय ६८ र उप–विजेताले २ लाख १ सय ६८ रुपैयाँ हात पार्नेछन् ।
किरात धर्मगुरुको जन्मोत्सवको अवसरमा २०६५ सालबाट हरेक बर्ष प्रतियोगिता आयोजना हुँदै आएको छ ।
म्याराथनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ ।
म्याराथनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले ६ हजार १ सय ६८ रुपैयाँ र चौथों हुनेले ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यसैगरी, अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए ।