काठमाडौं । अन्तराष्ट्रिय घोडचढी महासंघका प्रतिनिधि क्यामिल मार्टिनले नवनियुक्त खेलकुद मन्त्री महेश्वर गहतराजसँग भेटवार्ता गरेका छन् ।
बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा घोडचढी महासंघका एसिया प्यासिफिक रिलेसन प्रमुख मार्टिनले मन्त्री गहतराजसँग सिष्टाचार भेटवार्ता गरेका हुन् ।
मन्त्री गहतराजसँगको भेटमा अन्तराष्ट्रिय प्रतिनिधि मार्टिनले नेपाल भ्रमणको उद्धेश्य र घोडचढी खेललाई गर्न सक्ने सहयोगको विषयमा जानकारी गराएका थिए ।
नेपाल घोडचढी संघलाई दिने अन्तराष्ट्रिय सदस्यताको विषयमा अनुगमन गर्ने उद्धेश्य सहित काठमाडौं आएका मार्टिनले नेपाल घोडचढीको सम्भावित गन्तव्यको रुपमा ब्याख्या गरे ।
उनले भौगोलिक बनावट र सामाजिक ब्यवहारका कारण नेपाल घोडचढीको नयाँ गन्तव्य हुन सक्ने धारणा राखेका थिए । उनले काठमाडौं बाहिर घोडचढीको क्रस कन्ट्रि लगायतका अन्तराष्ट्रिय स्पर्धाका लागि विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्ने धारणा राखे ।
मार्टिनले घोडचढी खेलको प्रशिक्षण, संस्थागत विकास र खेलाडीलाई दिन सक्ने अन्तराष्ट्रिय अनुभवका लागि एक्सपोजरमा अन्तराष्ट्रिय महासंघ तयार रहेको बताएका थिए ।
नवनियुक्त खेलकुद मन्त्री गहतराजले नेपाल घोडचढी संघलाई अन्तराष्ट्रिय मान्यता दिएर काम अघि बढाउन अन्तराष्ट्रिय महासंघसँग आग्रह गरे ।
उनले घोडचढी संघलाई सहयोग गर्न आफु सधै तयार रहेको बताउँदै खेलमार्फत नेपालमा शाहसीक, खेल पर्यटन तथा पदकका लागि तयारी गर्न सरकार उत्साहीत रहेको बताए ।
‘घोडचढी नेपालको संस्कृति हो । यहाँको पर्यटन पनि हो । दुर्गम भेगका जनताका लागि यो यातायातको साधन पनि हो । विश्वव्यापी रुपमा यसको ब्राण्डिङ गर्न अन्तराष्ट्रिय सहयोगको खाँचो छ ।’ उनले भने ।
भेटवार्तामा नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराईले नेपालमा घोडचढी खेलको इतिहास, वर्तमान र सम्भावनाको बिषयमा प्रकाश पारेका थिए ।
उनले नेपालमा आधुनिक र परम्परागत घोडचढीका दुई विधालाई सँगै लैजान सकिने धारणा राखेका थिए । भट्टराईले घोडचढी खेलकुद मात्र नभएर आधुनिक पर्यटनको आधार बन्न सक्ने उल्लेख गरेका थिए ।
नेपाल घोडचढी संघका अध्यक्ष रविराज राजकर्णिकारले घोडचढीको प्रशिक्षणका लागि आवश्यक पूर्वाधार र नियमित बजेटका लागि सरकारको ध्यानकर्षण गराएका थिए । भेटवार्तामा संघका कोषाध्यक्ष मोहमद फाजिल समेत सहभागी थिए ।
अन्तराष्ट्रिय प्रतिनिधि मार्टिनले नेपाल ओलम्पिक कमिटी तथा नेपाल आर्मीको क्याबलरीको समेत भ्रमण गरेका थिए ।
श्रीलंकामा हेम्बनटोटा शहरमा सन् २०११ मा भएको साउथ एसियन विच गेम्मा नेपालले घोडचढीमा स्वर्ण पदक जितेर ऐतिहासिक सफलता हात पारेको थियो ।