काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे सदस्य सचिव सिफारिसका लागि समिति गठन गरेको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिसका लागि सह–सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् ।
समितिमा कमला ज्ञवाली र हरीबहादुर श्रेष्ठ छन् ।
सरकारले गत कात्तिक १ गते राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
सिलवाललाई पदमुक्त गर्ने निर्णय लगत्तै राखेप सदस्य सचिव छनोटको नयाँ प्रक्रिया सुरु हुने मन्त्रालयले बताएको थियो । मन्त्रालयको रिक्त सचिव पद पूर्ति हुने बित्तिकै सदस्य सचिव नियुक्तिकाे नयाँ प्रकृया सुरु हुने बताएको थियो ।
तर सचिव ल्याउन ढिलाई हुने देखिएपछि मन्त्रालयले सह–सचिवकै नेतृत्वमा समिति गठन गरेर सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढाएकाे हाे ।
राष्ट्रिय खेलकुद विकास ऐनको धारा १७ को उपधारा ३ मा सदस्य सचिव पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयको सचिवको संयोजकत्वमा मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका एक जना महिला सहित दुई जना बिज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।
समितिले योग्यता पुरा भएका ब्यक्तिबाट सदस्य सचिव नियुक्तिको लागि एकजना महिला सहित तीन जना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।
सदस्य सचिव सिफारिस गर्दा अवलम्बन गर्ने प्रक्रिया तथा बैठक सम्बन्धी अन्य कार्यविधि सिफारिस समिति आफैले निर्धारण गर्ने ऐनमा उल्लेख छ ।
समितिले सिफारिस गरेको व्यक्तिबाट मन्त्रालयले सदस्य सचिव नियुक्ति गर्न मन्त्री परिषद्मा पेश गर्ने छ । मन्त्रालयबाट पेश भएको एक महिला सहित तीन जनाबाट मन्त्री परिषद्ले एक जनालाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने ऐनमा उल्लेछ ।
सदस्य सचिवबाट सिलवाललाई पदमुक्त गरेपछि रिक्त स्थानमा मन्त्रालयले सह–सचिव विष्णुराज ढकाललाई निमित्तको रुपमा पठाएको छ । मन्त्री स्तरीय निर्णयबाट मंगलबार ढकाललाई राखेपको निमित्तको जिम्मेवारीमा पठाईएको हो ।