काठमाडौं । सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का पाकिस्तान जाने भएका छन् ।
इस्लामाबादमा नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक बिहीबार पाकिस्तान जान लागेका हुन् ।
प्रतियोगितामा अशोकसहित नेपालबाट ६ निर्णायक सहभागी हुँदैछन् । प्रतियोगितामा ६ खेलाडी तथा १÷१ प्रशिक्षक र आफिसियल पनि सहभागी हुने छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरेलगायतले अशोकलाई ट्रयाक सुट प्रदान गरि मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
पाकिस्तान यात्राको सम्पूर्ण खर्च कागेश्वरी मनोहरा नगरपालिकाले प्रायोजन गरेको अशोकले जानकारी गराएका छन् ।
आफ्नो करियरमा अशोकले अनलाइनसहित करिब ६० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । नेपालमा ग्योरोगी, पुम्से र पारा तीनै विधामा निर्णायकको लाइसेन्स प्राप्त गर्ने अशोक एक मात्र निर्णायक हुन् ।