काठमाडौं । अब्दुल्लाह अलमुताइरी नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किएका छन् ।
साफ फुटबलको फाइनल अघि नेपाल नफर्कने घोषणा गरेका अलमुताइरीले नयाँ सम्झौता सहित दोस्रो इनिङ्स सुरु गरेका हुन् ।
'याे पुरानाे सम्झाैता हैन । हिजो (सोमबार)देखि नयाँ सम्झौता लागु भएको छ । यो सम्झौता सन् २०२४ को अन्तिम सम्म रहेको छ ।' मंगलबार एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा अलमुताइरीले भने ।
एन्फाका केन्द्रिय सदस्य तथा टिम म्यानेजर मधुशुदन उपाध्यायका अनुसार प्रशिक्षकसँगको सम्झौता सन् २०२४ सम्म रहेको छ ।
पत्रकार सम्मेलनमा सम्झौताका अन्य विषय दुवै पक्षले खुलाएनन् ।
एन्फा स्रोतका अनुसार अलमुताइरीले प्राप्त गर्ने तलब कतार सरकारले ब्यहोर्नेछ । सो तलब करिब १२ लाख रुपैयाँ हाराहारीमा छ । एन्फाले नेपाल बस्ने क्रममा यातायात र सञ्चारका लागि थप दुई लाख आन्तरिक स्रोतबाट दिनेछ ।
अलमुताइरीले पत्रकार सम्मेलनमा आफुले तीन चरणको योजनामा काम गर्ने बताए । तर सुरुवाती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रम मात्र सार्वजनीक गरे । जस अन्तर्गत राष्ट्रिय टिमको प्रशिक्षक र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका छन् ।
उनले विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको प्रष्टाए ।
साफको फाइनल अघि राजीनामा घोषणा गरेका उनलाई के कुराले नेपाल फर्कन प्रेरित गर्यो त ?
‘नेपाली जनताको साँचो मायाले फर्काएर ल्यायो । मसँग क्षमता पनि छ । सायद मेरो क्षमतालाई उनीहरुले प्रेम गरे ।’ अलमुताइरीले भने ।
दोस्रो इनिङ्सको पहिलो पत्रकार सम्मेलन अलमुताइरीका लागि सुखद रहेन ।
पत्रकारसँग उनको नोक–झोकनै चल्यो । उनले पत्रकारसँग राम्रा र सकारात्मक समाचार लेखिदिन आग्रह गरे ।
नेपाली समर्थकको कमेन्ट हेरेर मिडियामाथि फिक्सिङको आरोप लगाएका अलमुताइरीले आफ्नो कदमको भने बचाउ गरे । माल्दिभ्समा नेपाली मिडियामाथि लगाएको फिक्सिङको आरोपमा भने उनी तर्किए ।