धनगढी । दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ आदर्श युवा क्लबले जितेको छ ।
धनगढीमा भएको प्रतियोगिताको फाईनलमा वडा नम्बर ३ लाई फराकिलो अन्तरले हराउँदै वडा नम्बर ५ को आदर्श युवा क्लबले उपाधि जितेको हो ।
सोमबार साँझ धनगढीको फल्याटल्याण्ड फुटसलमा भएको फाईनलमा वडा नम्बर ५ ले वडा नम्बर ३ लाई १०–१ को फराकिलो अन्तरले हराएको हो ।
यसअघि सोमबार नै भएको सेमिफाईनलमा जित हात पार्दै दुबै टोली फाईनल पुगेका थिए । वडा नम्बर ५ ले सेमिफाईनलमा वडा नम्बर ४ लाई हराएको थियो भने वडा नम्बर ३ ले वडा नम्बर ७ लाई हराएको थियो । वडा नम्बर ३ ले सोमबार नै भएको अन्तिम क्वाटरफाईनलमा वडा नम्बर १ लाई किनारा लगाएको थियो ।
दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेता बनेको वडा नम्बर ५ आदर्श युवा क्लबले नगद ५० हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ३ ले नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेको छ । पहिलो संस्करणमा पनि वडा नम्बर ५ स्टार सिटी विजेता बनेको थियो । पहिलो संस्करणको उपविजेता वडा नम्बर १ फारवेष्ट पशुपति रहेको थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ४ का कुवेर सिंह भएका छन । उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का भरत जोशी, सर्वाधिक गोलकर्ता वडा नम्बर ५ का कमल देउवा र उदयमान खेलाडी वडा नम्बर १२ का सुरेन्द्र ढकाल भएका छन् । उनीहरुले पनि नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेका छन् ।
विजयी खेलाडीलाई एक समारोहका बीच धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडले पुरस्कार वितरण गरेका छन् । आयोजक टेकवहादुर चोखाल फाउण्डेसनका अध्यक्ष विनय चोखालको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि मेयर ओडले खेलकुदको माध्यमबाट धनगढीलाई चिनाउने अभियान सञ्चालन गरिएको बताए ।