काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा लैजान आग्रह गरेका छन् ।
सिंहदरबारमा युवा तथा खेलकुद मन्त्रालयले सोमबार आयोजना गरेको राय तथा परामर्श कार्यक्रममा पूर्व मन्त्री विश्वकर्माले वर्तमान खेलकुदका समस्यालाई ऐनले सम्बोधन गर्ने भएकाले यसको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् ।
उनले बाहिर विभिन्न खालका टिकाटिप्पणी हुने गरेपनि नयाँ खेलकुद ऐनले खेलकुद क्षेत्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने दाबी गरे ।
नवनियुक्त खेलकुद मन्त्री महेश्वर गहतराजले जिम्मेवारी सम्हालेपछि विभिन्न क्षेत्रका व्यक्तिसँग राय, सुझाव लिईरहेका छन् । सोही क्रममा उनले सोमबार खेलकुद मन्त्रालय सम्हालेका पूर्व मन्त्रीलाई छलफलका लागि आमन्त्रण गरेका थिए ।
कार्यक्रममा पूर्व खेलकुद मन्त्री विश्वकर्मा सहित पूर्व खेलकुद राज्यमन्त्री चन्द्रा चौधरी, गोपी अछामी सहभागी थिए ।
पूर्व मन्त्री विश्वकर्माले अघिल्लो सरकारले राम्रा खालका योजना अघि बढाएको उल्लेख गर्दै खेलकुद पूर्वाधारको काम सम्पन्न गर्ने जिम्मेवारी मन्त्रालयकै रहने उल्लेख गरे ।
उनले सातवटा प्रदेशमा निर्माण गर्ने भनिएका अत्याधुनिक खालका प्रादेशिक रंगशालाको निर्माणलाई पूर्णता दिन सकेको खण्डमा स्थानीय स्तरबाट खेलाडी उत्पादनमा टेवा पुग्ने बताएका थिए ।
कार्यक्रममा युवा तथा खेलकुदको विकासका लागि श्रोत जुटाउने, युवा लक्षित कार्य गर्ने धेरै मन्त्रालय भएकाले एकिकृत रुपमा कार्यक्रम सञ्चालन र समन्वय गर्ने, युवाको क्षमता अभिबृद्धि तथा परिचालन गर्ने, युवालाई रोजगार, स्वरोजगार, उद्यमी बनाउनका लागि कोषबृद्धि गर्ने, नागरिकमा अनुशासन र स्वयंसेवकीय भावनाको विकासका लागि स्थानिय तहदेखि नै स्काउटको विकास गर्ने लगायतका विषयमा राय राखिएको थियो ।
यस्तै खेलकुद पूर्वाधारहरुको गुणस्तरीय निर्माण तथा सम्पन्न गर्ने, खेल कौशल विकासका लागि खेलाडीलाई आधुनिक प्रशिक्षण गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागिता, खेलाडीलाई उत्प्रेरित गर्ने, खेलकुदमा निजी क्षेत्रलाई आकर्षित गर्ने बिषयमा सहभागीले राय राखेका थिए ।