काठमाडौं । जाडेन श्रेष्ठ र आजमी शेरचनले किड्स ट्राईथलनको उपाधि जितेका छन् ।
जाडेनले ब्वाइजतर्फ र गर्ल्सतर्फ आजमीले उपाधि हात पारेका हुन् ।
नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड २० मिनट ५१.६१ सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन् ।
यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन् ।
स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा विजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाईज तर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । सिंहले उक्त दूरी २१ मिनट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७.२० सेकेन्डमा पुरा गरे ।
यस्तै गर्ल्सतर्फ परिधी भण्डारीले २५ मिनट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पुरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे।
दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजारको गिफ्ट भौचर प्राप्त गरे ।
प्रतियोगितामा ब्वाईज तर्फ जोर्डन श्रेष्ठ र गर्ल्सतर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरुले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी काठमाण्डौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा २२ ब्वाईज र ७ गर्ल्सको सहभागिता रहेको थियो ।