दोलखा । पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन् ।
दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन् ।
आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे । बेल्ट सहित उनले १ लाख ५० हजार रुपैयाँ सहित हात पारे ।
प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन् । खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले रेस्लिङको आयोजना गरिएको हो ।
प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे । ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने । उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।
लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
उनले खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताएका थिए । मन्त्री गहतराजले प्रदेश खेलकुद सक्रिय भएकोमा खुसी व्यक्त गरे ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले यस प्रकारका प्रतियोगिता आयोजना गर्न स्थानीय तह आफै सक्रिय बन्नुपर्ने बताए । उनले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राखे ।
नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले रेस्लिङ खेलप्रति दोलाखाबासीले देखाएको सद्भावका लागि धन्यवाद दिईन् । उनले प्रतियोगिता आयोजनाका लागि प्रदेश सरकार र स्थानीय सरकारले प्रदान गरेको सहयोगको प्रशंसा गरिन् ।