काठमाडौं । दोलखाको चरिकोटमा हुने हाइ अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटीमा हुने भएको छ ।
आयोजक नेपाल रिङ रेस्लिङ एसोसियसन र कखरा पब्लिकेशनबीच दोलखामा हुने राष्ट्रिय रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटीमा गर्ने सहमति भएको छ ।
प्रदेश खेलकुद विकास परिषद बागमती र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता कात्तिक १३ गते अर्थात भोलि शनिबार हुदैछ ।
दोलखाको प्राकृतिक तथा पर्यटकीय स्थल चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा प्रतियोगिताका खेलहरु हुनेछन् ।
प्रतियोगिताका खेलहरु खेलपाटी डटकमको वेवसाइट तथा यसको आधिकारिक फेसबुक पेज र युट्युबबाट हुनेछ ।
नेपालमा रेस्लिङको बढ्दो लोकप्रियता र खेलकुदसँगै पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यले दोखलाको चरिकोटमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा नुवाकोटे टाइगर सहित, थागु, डेभिड, साइन लगायतका चर्चित रेस्लरले प्रतिस्पर्धा गर्ने तय भएको छ । नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताको आयोजनाबाट रेस्लिङ खेलको विकाससँगै कोभिडले थलिएको पर्यटन व्यवसायको प्रबद्र्धनलाई सहयोग पुग्ने बताईन् ।