काठमाडौं । पर्वतीय खेलकुद महासंघले विश्व पर्वतीय खेल महोत्सव नेपालमा आयोजना गर्ने सन्दर्भमा तयारी अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।
मंगलबार नव नियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसँग भेट गरि महासंघले सन् २०२५ भित्र नेपालमा आयोजना गर्ने लक्ष्य राखिएको विश्व पर्वतीय खेलकुद महोत्सवको सन्दर्भमा तयारी अघि बढाउन अनुरोध गरेको हो ।
महासंघको टोलीले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा नव नियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिदै महासंघको उद्धेश्य, लक्ष्य, योजना, कार्यसम्पादन र गतिविधिको विषयमा जानकारी गराएको थियो ।
महासंघका तर्फबाट अध्यक्ष गोबिन्द भट्टराईले दिगो खेलकुद विकासको रुपमा रहेको पर्वतीय खेलको विकास र विस्तारमा राज्यले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
उनले खेलकुदलाई पर्यटनसँग जोडेर देशको आर्थिक र दिगो विकासका लक्ष्य हासिल गर्न सकिने बताएका थिए ।
उनले सन् २०२५ भित्र नेपालमा आयोजना गर्ने तयारी गरिएको पर्वतीय खेल महोत्सवको तयारी अघि बढाउन सरकारको ध्यानकर्षण गराएका छन् ।
उनले विश्व स्तरीय खेल महोत्सवबाट खेलकुदसँगै पर्यटन र आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखे ।
कार्यक्रममा मन्त्री गहतराजले पर्वतीय खेलकुदको विषय गहन रहेको उल्लेख गर्दै महासंघको अनुरोधप्रति आफु सकारात्मक रहेको बताए ।
उनले पर्वतीय खेल महोत्सवको तयारीको सन्दर्भमा अघि बढ्न आफु प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा अध्यक्ष भट्टराई सहित महासंघ अन्तर्गतका रेइङ खेलका महासचिव सम्पन्न श्रेष्ठ, गल्फ संघका अध्यक्ष टासी घले, कोषाध्यक्ष किसन अग्रवाल, नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी, आइस हकीका विजय खड्का, प्याराग्लाइडिङका उमेश केसी, एथ्लेटिक्सका आरके विष्ट लगायतको उपस्थिती रहेको थियो ।