पोखरा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको ग्लोबल फेन्टासी नेपालका नितेश रेग्मीले जितेका छन् ।
दुबईमा शुक्रबार सकिएको १४ औं संस्करणको आईपीएलको फेन्टासी पोखराका स्थायी नितेशले जितेका हुन् ।
आईपीएलको उपाधि भने चेन्नई सुपर किङ्सले जितेको छ ।
१३ लाख ५९ हजार बढी प्रतिस्पर्धीलाई पछि पार्दै नितेशले आईपीएलको फेन्टासी जितेका हुन् ।
`एरोप्लेन सट´ नाम लिएर खेलेका नितेशले २२ हजार ३९५ पोइन्ट प्राप्त गर्दै फेन्टासी जितेका हुन् । उनलाई पछ्याएका `नोउस एलेभेन´ले २१ हजार ९७५ अंक पाएका छन् ।
नितेशले आईपीएलको `साइन्ड जर्सी, ब्याट´ तथा अन्य उपहारसँगै भिभोको फोन प्राप्त गर्नेछन् । फेन्टासी जितेका नितेश चार्टर्ड एकाउन्टेन्टका विद्यार्थी हुन् ।
`फेन्टासी जित्छु नै भनेर होइन, रमाइलोको लागि खेलेको थिएँ, जित्दा खुसी छु,´ नितेशले भने ।