पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा आज मंगलबार लिग चरणका अन्तिम ३ खेलहरु हुँदैछन् ।
पोखराको बहूदेशीय कभर्डहलमा हुने पहिलो खेलमा फुटसल फाइभ धरान र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फुटसल फाइभ र प्रभातफेरीबीचको खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
यस खेलमा जित निकालेमा फुटसल फाइभ प्ले अफमा पुग्नेछ । बराबरी र हार व्यहोरेको खण्डमा सबिन मेमोरियल र संखमुल फुटसलबीचको खेलको नतिजा कुर्नु पर्नेछ ।
सबिन र संखमुलबीचको खेल अपरान्ह ४:३० बजे सुरु हुनेछ । जुन खेल लिग चरणको अन्तिम खेल हुनेछ ।
सबिनविरुद्ध जित निकालेमा संखमुलले दोस्रो स्थानमा रहदै क्वालिफायर खेल्नेछ । सबिनलाई हार जितले फरक पार्ने छैन ।
यस्तै आज हुने दोस्रो खेलमा ढुकु फुटसल हब र झरना युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ढुकु अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
झरना पनि पहिलो अंक जोड्न चाहन्छ । रेलिगेसनमा परेको झरनाले ८ खेलमा ८ नै हार व्यहोरेको छ ।
लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले प्ले अफ खेल्ने छन् ।
स्पोर्ट्स क्यासल, द राइजिङ क्लब धरान र संखमुल फुटसल प्ले अफमा पुगिसकेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।